नेपाली भाषा

आवास र सम्पत्ति

कृपया सेवा प्रयोग गर्नुअघि ती प्रश्नहरू र तिनको जवाफ पढ्नुहोस्।

  • FAQ भनेको जापानमा कानुनी प्रणालीको एक सामान्य परिचय हो र त्यसमा खास व्यक्तिगत प्रश्नहरूको जवाफ दिइएको हुँदैन। यसका साथसाथै, तपाईंको व्यक्तिगत परिस्थितिका आधारमा जापानी कानुनी प्रणाली लागू नहुन सक्छ।
  • तपाईं यहाँ सूचीबद्ध नगरिएका कुनै "बारम्बार सोधिने प्रश्नहरू" छन् वा छैनन् भनी थाहा पाउन चाहनुहुन्छ वा आफ्ना विशेष आवश्यकताहरूबारे छलफल गर्न चाहनुहुन्छ भने कृपया बहुभाषिक सूचना सेवा (0570-078377) मा सम्पर्क गर्नुहोस्। यसले तपाईंलाई बारम्बार सोधिने प्रश्नहरूबारे जानकारी र तपाईंको सोधपूछको प्रकृतिका आधारमा परामर्श सेवाहरू प्रदान गर्ने छ।
  • कृपया बारम्बार सोधनि प्रश्नका आधारमा खास व्यक्तिगत समस्याहरू समाधान गर्न खोज्दा हुने कुनै पनि नोक्सानीहरूका लागि Houterasu लाई जिम्मेवार ठहराउन सकिँदैन भन्ने कुरा ध्यानमा राख्नुहोस्।

विषयवस्तुहरू

प्रश्न 01: रियल स्टेट एजेन्टले मलाई सुरक्षा धरौटी भुक्तानी गर्न अनुरोध गर्नुभयो। यो पैसा केका लागि हो?

“सुरक्षा धरौटी”, “ग्यारेन्टीको पैसा”, “प्रत्याभूति रकम”, “धरौटीको पैसा” जस्ता शब्द वा अरू कुनै पनि शब्द प्रयोग गरिएको भएता पनि उक्त रकमलाई भाडावाल (लिज लिने व्यक्ति) को दायित्व (जस्तै भाडा) सुरक्षित गर्न भाडावालले घरधनीलाई दिएको पैसा सम्झनु पर्छ।
 
(व्याख्या)
・लिज समाप्त भएपछि र भाडावालले घरधनीको घर खाली गरेपछि, भाडावालले तिर्नुपर्ने रकम सुरक्षा धरौटीबाट कटौती गरिन्छ र बाँकी रकम भाडावालाई फिर्ता गरिन्छ।
・सुरक्षा धरौटीबाट कटौती गर्न सकिने दायित्वहरूमा घर खाली गरिएको समयसम्म पनि भुक्तानी नगरिएको तिर्न बाँकी भाडा र भाडावालले झुक्किएर भित्ता खराब गरेको वा झ्याल फुटालेको बेलामा लागेका मर्मत खर्चहरू जस्ता कुराहरू पर्दछन्।
・आफै बिग्रिएका र समयसँगै सामान्य प्रयोग गर्दा गर्दै पुराना भएका टाटामी म्याट र फिटिङहरू जस्ता सामान्य क्षति सुरक्षा धरौटीबाट कटौती गर्नु पर्ने दायित्वहरूमा पर्दैनन्।
・घरधनीले तिर्न बाँकी भाडा, भाडावाललेख्याल राख्न नसकेर भएको क्षतिको मर्मत खर्च र घर खाली गर्दा लागेका खर्चहरूको अवस्थामा भाडावालबाट केही रकम सङ्कलन गर्नुहुन्छ। तिर्न बाँकी भाडा, मर्मत खर्चहरू आदि भएमा, यी दायित्वहरूको रकम कटौती गरिने छ र बाँकी रकम भाडावाललाई फिर्ता गरिने छ।

00493

 

प्रश्न 02: मैले मेरो भाडा बुझाउन बिर्सिएँ र मेरो घरधनीले मलाई मेरो कोठा खाली गर्न आग्रह गर्नुभयो। के मैले कोठा खाली गर्नुपर्छ?

・सम्पत्ति खाली गर्न आवश्यक छ कि छैन भन्ने कुरा भाडावालले भाडा भुक्तानी नगर्दा घरधनी र भाडावालबीचको विश्वासको सम्बन्धमा कुन हदसम्म फाटो आएको छ भन्ने कुरामा भर पर्छ।
एक पटक भाडा भुक्तानी गर्न बिर्सिँदैमा तपाईंले सम्पत्ति खाली गर्नु पर्दैन।
 
(व्याख्या)
・भाडावालले भाडा भुक्तानी नगर्दा विश्वासको सम्बन्धमा फाटो आएको छैन भने लिजसम्बन्धी सम्झौता रद्द गर्न मिल्दैन। साधारणतया, तीन वा सोभन्दा बढी महिनाको भाडा भुक्तानी गरिएको छैन भने विश्वासको सम्बन्धमा फाटो आएको मानिन्छ।
・यदि सम्झौतामा एक पटक पनि भुक्तानी गर्न चुकेमा तुरुन्तै सम्पत्ति खाली गर्नु पर्ने छ भनी उल्लेख गरिएको विशेष दफा भए तापनि त्यस्तो उपधारा अवैध मानिन सक्छ।
・थप जानकारीका लागि, वकील, लेखनदास वा अन्य पेशेवरसँग परामर्श लिनुहोस्।

00547

 

प्रश्न 03: कुनै सम्पत्तिलाई सुरुकै अवस्थामा ल्याउनुपर्ने भाडावालको दायित्व भनेको के हो?

भाडावालले भाडामा लिएको सम्पत्ति खाली गर्दा, भाडावालले आफू त्यहाँ सर्नुभन्दा अघि उक्त सम्पत्ति जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा छाड्नु पर्ने हुन्छ।
 
(व्याख्या)
・कुनै सम्पत्तिलाई सुरुकै अवस्थामा ल्याउनु पर्ने दायित्वको अर्थ यसलाई “नयाँ” अवस्था ल्याउनु पर्छ भन्ने होइन।
・स‍म्पत्ति सामान्य रूपमा प्रयोग तथा त्यसबाट लाभ लिँदा भएको टूटफुट वा समय बित्दै जाँदा त्यसमा भएको कुनै पनि परिवर्तन क्षतिअन्तर्गत पर्दैन।
・यदि भाडावाल जिम्मेवार नरहेको कुनै कारकहरूले‍ गर्दा सम्पत्तिमा क्षति पुगेको हो भने भाडावाल उक्त सम्पत्तिलाई सुरुकै अवस्थामा ल्याउन बाध्य हुने छैन।
・भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले भाडावाल कुनै सम्पत्तिलाई सुरुकै अवस्थामा ल्याउन कुन हदसम्म जिम्मेवार हुन्छ भन्ने ‍कुरा समेटेर “सम्पत्तिलाई सुरुकै अवस्थामा ल्याउने कार्यसँग सम्बन्धित जटिलता र सोसम्बन्धी मार्गदर्शनहरू” भनिने सामान्य मापदण्डहरू प्रकाशित गरेको छ तर खास कुराहरू भने दुवै पक्षबिच भएको सम्झौताको विवरण तथा व्यक्तिगत परिस्थितिहरूमा निर्भर रहने छन्। त्यसैले विस्तृत जानकारी प्राप्त गर्न कुनै वकील वा अन्य पेशेवरसँग परामर्श लिनुहोस्।

00499

प्रश्न 04: कुनै सम्पत्तिलाई सुरुकै अवस्थामा ल्याउँदा भाडावालको मर्मत गर्नुपर्ने दायित्वको हद के हो?

भाडावाल भवनमा बसेको वा निजले भवन प्रयोग गरेको कारणले भवनको मूल्यमा आएको कमी छ भने भाडावालले जानजान वा लापरबाही गरेका कारण, सम्पत्तिको हेरचाह गर्ने कर्तव्य ननिभाएका कारण वा असामान्य ढङ्गले सम्पत्ति प्रयोग गरेका कारण हुन गएको टूटफुट वा क्षति बराबरको मर्मतसम्भार गर्नु पर्ने दायित्व हुन्छ।
 
(व्याख्या)
・यद्यपि प्रायः समाधान गर्न अत्यन्तै कठिन हुने खालका विशिष्ट समस्याहरू उत्पन्न हुने भएता पनि भाडावालले सामान्य रूपमा बसोसबास वा प्रयोग गर्दा गर्दै पनि सम्पत्तिमा कुनै पनि किसिमको क्षति पुग्ने अपेक्षा गरिएको हुन्छ भने उक्त सम्पत्ति सुरुकै अवस्थामा ल्याउन भाडावाल बाध्य हुँदैन।
・यद्यपि, क्षगि जानाजान पुर्‍याइएको हो वा लापरवाहीका कारणले भएको हो भने भाडावालको मर्मत गर्ने दायित्व हुने छ।
・लापरवाहीपूर्वक गिलास फुटाउनु वा जानाजानी कुनै वस्तुले भित्तामा ठूलो प्वाल बनाउनु आदि यसका केही सामान्य उदाहरणहरू हुन्।

00513

प्रश्न 05: म मेरो अपार्टमेन्ट भवनमा बस्ने छिमेकीहरूसँग होहल्ला (सङ्गीत, वाशिङ मेसिनहरू, इत्यादिको आवाज) का विषयमा भएका विवादहरू कसरी सुल्झाउन सक्छु?

・सबैभन्दा पहिलेगर्नुपर्ने कुरा भनेको सम्बन्धित पक्षहरू बीच छलफल गर्नु वा भवन व्यवस्थापन संघ (निवासीहरूको संघ) सँग यसबारे कुरा गर्नु हो। तपाईं निजी विवाद समाधान गर्ने संस्था (ADR संस्था) को सहारा लिन पनि सक्नुहुन्छ।
・यदि यसो गर्दा समस्याको समाधान भएन भने, तपाईं होहल्ला रोक्न वा भएका नोक्सानीहरूको क्षतिपूर्तिका लागि आदेश प्राप्त गर्न अदालतमा मेलमिलापका लागि आवेदन दिन सक्नुहुन्छ।
मेलमिलापले पनि समस्या समाधान भएन भने, तपाईंले अन्ततः निजामती मुद्दा दायर गर्नुपर्ने छ।
 
(व्याख्या)
・व्यवस्थापन संघले होहल्लासम्बन्धी धेरै उजुरी प्राप्त गर्‍यो भने, स्टेरियो र वाशिङ मेसिनहरू कति बेला र कसरी प्रयोग गर्न सकिन्छ भन्ने जस्ता सामुदायिक जीवनचर्याका लागि नियमहरू स्थापित गर्न र व्यवस्थापन संघले यी नियमहरू लागू गर्छ भनी सुनिश्चित गर्न सम्भव हुन सक्छ।
・मेलमिलाप र मुद्दाहरूमा सबैभन्दा ठूलो समस्या भनेको होहल्ला “स्वीकार्य सीमा” भित्र पर्छ कि पर्दैन भन्ने हो। अर्को शब्दमा भन्नुपर्दा, दैनिक जीवनमा वस्तुगत रूपमा स्वीकार्य सीमाभन्दा बढी होहल्ला भएको बेलामा, त्यस्तो अवस्थालाई गैर-कानूनी मानिने छ र क्षतिहरूका लागि निषेधाज्ञा वा क्षतिपूर्तिको अनुरोध प्रदान गरिने छ।
・होहल्ला “स्वीकारयोग्य सीमाहरू” मा छ वा छैन भन्ने कुरा परिस्थितिहरूका वृहत् विचारका आधारमा निर्धारण गरिने छ, जस्तै सार्वजनिक नियमनहरूमा दिइएको सङ्ख्यात्मक मानहरूसितको सम्बन्ध, होहल्लाको सीमा, समय, उल्लङ्घन गरिने अधिकार र उल्लङ्घनको सीमा।

01728